logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हृृदयघातबाट मतदान अधिकृतको मृत्यु


  • उज्यालो अभियान

मलंगवा, १९ फागुन – सर्लाहीमा आज एक जना मतदान अधिकृतको हृृदयघात अर्थात् ‘हर्ट एट्याक’ बाट मृत्यु भएको छ ।

क्षेत्र नं. २ स्थित पर्सा गाउँपालिका–४, जिङ्गडवामा रहेको आधारभूत विद्यालय (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो । आज दिउँसो मात्र मतदान केन्द्रमा पुगेका महतो एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइयो । अस्पताल ल्याउँदा महतोलाई मृत घोषणा गरिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।

प्रादेशिक अस्पतालका हेल्थ असिस्टेन्ट शंकरकुमार पटेलले मतदान अधिकृत महतोको हृृदयघातबाट मृत्यु भएको पुष्टी गरेका छन् । मृतक महतो सिनियर अहेव हुन् ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र बरहथवा नगरपालिका १ हजरियामा कार्यरत रौतहटको माधवनारायण नगरपालिका ६ घर भएका महतो पर्सीको चुनाव गराउन आधारभूत विद्यालय जिङ्गडवामा मतदान अधिकृतको रुपमा खटिएका थिए ।

क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार मतदान अधिकृत महतोको मृत्यु भएपछि त्यहाँ अब नयाँ मतदान अधिकृत पठाउने तयारी भइरहेको छ । आधारभूत विद्यालय जिङ्गडवामा सहायक मतदान अधिकृतको रुपमा खटिनुभएका गोविन्द पोखरेलले मतदान अधिकृतको मृत्यु भएपछि पनि मतदान केन्द्र निर्माण र अन्य तयारीको काममा जुटिरहेको उज्यालो अभियानसँग बताए ।

सहायक मतदान अधिकृत पोखरेलले मतदान अधिकृत महतोले आफू मात्र गएर आज सर्वदलीय बैठक राख्नेसहितका काम गर्ने र तपाईहरु भोली बिहानै आउनु भने पनि उनको मृत्यु भएपछि आफूहरु आजै मतदान केन्द्रमा पुगिसकेको बताएका हुन् ।