बागमती, ०२ माघ – बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ परेका छन् ।
मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाका २२ वर्षीय श्यामलाल न्यासुर (तामाङ) र लालबन्दी १५ देउरालीका २३ वर्षीय मिमकुमार मोक्तान पक्राउ परेका हुन् । उनीहरुलाई पर्यटकीयस्थल भरत ताल परिसरमा पार्किङ गरेर राखिएको ना ४२ प ८०५६ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्दा गर्दै ताल परिसरबाटै तत्काल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले उज्यालो अभियानसँग बताए ।
दुई युवकले प्रयोग गरेको बागमती प्रदेश ०२–०४८ प १६५६ नम्वरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यो मोटरसाइकलको पनि कुनै कागजात नरहेको पाइएकाले चोरीकै हुने आशंकामा अनुसन्धान गरिरहेको इन्स्पेक्टर अधिकारीले बताए ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवै युवकविरुद्ध थप अनुसन्धान गर्न प्रहरीलाई आज सर्लाही जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको इन्स्पेक्टर अधिकारीले बताएका छन् ।