लालबन्दी, २७ पुस – APIRON ODV Italy को आर्थिक सहयोग तथा बाल संरक्षण संस्थाद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध समुदायका लागि बलियो साथ” परियोजनाको अनुगमन कार्यक्रम लालबन्दी नगरपालिकाका वडा नं. ४ र १० मा सम्पन्न भएको छ ।
अनुगमन कार्यक्रम लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा उप-प्रमुख कल्पना माया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितनाथ लुइँटेल, सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सचिव, प्रहरी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष शोभा थापा, सचिव चन्द्रकला बज्राचार्य, कोषाध्यक्ष मीना देवकोटा तथा कार्यसमिति सदस्यहरूको पनि उपस्थिति थियो ।
परियोजनाको उद्देश्य, गतिविधि तथा प्रगतिबारे परियोजना संयोजक अर्जुन काफ्लेले सहजीकरण गरेका थिए । अनुगमनका क्रममा सहभागी महिला सरिता भुजेल, रामशरण चौधरी, पूर्णमाया विश्वकर्मा र राजन डंगोलले परियोजनाबाट प्राप्त अनुभव तथा यसले व्यक्तिगत र पारिवारिक जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे धारणा राखेका थिए ।
कार्यक्रममा वडा नं. ४ का २१ जना र वडा नं. १० का २० जना दलित महिलालाई प्रति व्यक्ति २५ हजार रुपैयाँका दरले चेकमार्फत जीविकोपार्जन सहयोग रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम तरकारी तथा मकै खेती, पशुपालन, बाख्रापालन, कुखुरापालन, पानीपुरी-चटपटे, फास्टफुड, किराना पसल, सिलाइकटाइ तथा ब्युटी पार्लर जस्ता साना व्यवसाय सञ्चालनमा प्रयोग गरिने बताइएको छ । परियोजनाको मुख्य उद्देश्य महिलाको निर्णय प्रक्रियामा सहभागिता बढाउने, आयआर्जन क्षमतामा वृद्धि गर्ने तथा आर्थिक क्रियाकलापमा सक्रिय सहभागिता प्रवद्र्धन गर्ने रहेको परियोजना संयोजक काफ्लेले जानकारी दिए ।
नगरप्रमुख अधिकारीले परियोजनाले लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै सहभागीहरूलाई आफ्नै सीपअनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिए । उप-प्रमुख पाख्रिनले महिलामाथिको हिंसा न्यूनीकरणमा परियोजनाको योगदान प्रशंसनीय रहेको बताउँदै यसलाई नगरका सबै वडामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले तराई क्षेत्रमा घरेलु हिंसा व्यापक रहेको उल्लेख गर्दै यस्ता लैङ्गिक समानतामूलक परियोजनाहरू अत्यन्त महत्वपूर्ण भएको धारणा राख् । साथै, व्यवसाय दर्ता गरी औपचारिक रूपमा सञ्चालन गरेमा वित्तीय संस्थाबाट ऋण तथा स्थानीय सरकारबाट सेवा–सुविधा प्राप्त गर्न सहज हुने जानकारी दिए ।
वडा नं. ४ का वडाध्यक्ष शशी चौधरी र वडा नं. १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले परियोजनाले महिलामाथिको हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेको बताउँदै प्राप्त सहयोग रकम सही सदुपयोग गर्न आग्रह गरेका छन् र