मलंगवा, २८ मंसिर – सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ ।
स्थानीयले गएको कात्तिक मध्यतिर सडक कालोपत्रेको माग गर्दै अनिश्चिकालिन चक्काजाम सुरु गरेपछि निर्माण व्यवसायीले काम अघि बढाएका थिए । स्थानीयको आन्दोलनपछि पनि सुस्त गतिमा काम अघि बढाएको निर्माण कम्पनिले हिजोदेखि कालोपत्रेको प्रारम्भिक कार्य अन्तर्गत प्राइम हाल्न सुरु गरेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रन्जितकुमार रायले जानकारी दिए ।
उनका अनुसार दुई/तीन दिनभित्रै प्राइम हाल्ने काम सकिने छ । त्यसपछि प्राइम सुक्न थप दुई/तीन दिन लाग्ने र त्यस लगत्तै अन्तिम चरणको पिच गर्न सुरु गरिने छ । मलंगवा बजारको मुख्य भागमा ७०० किलोमिटर सडक अधुरो छ ।
टावरचोकदेखि झण्डा बजारसम्मको सडक वर्षौदेखि अलपत्र रहँदा स्थानीय र यात्रु धुलोबाट हैरान बनिरहेका छन् । इन्जिनियर रायले प्राइम हाल्ने काम पुरा हुनासाथ धुलोको समस्या अन्त्य हुने बताउनुभयो । निर्माण व्यवसायीले पुस १५ सम्ममा कालोपत्रेको काम नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका इन्जिनियर रायको भनाइ छ ।
मलंगवा बजार क्षेत्रको सडक कालोपत्रे गर्न हिमडुङ एण्ड ठोकर/हिरा एण्ड नमिता जेभीले ठेक्का पाएको छ । सडक कालोपत्रेका लागि सडक विभागले निर्माण व्यवसायीलाई पटक पटक गरी ७ चोटी म्याद प्रदान गरिसकेको छ ।