लालबन्दी, ०५ मंसिर – लालबन्दी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत आज लालबन्दी नगरपालिका ५ मा रहेको बेतिनी सुन्दरबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा ११० जनाले स्वास्थ्य सेवा लिएका लालबन्दी जेसीजका पूर्व अध्यक्ष ठाकुरप्रसाद बख्रेल (मनोज) ले जानकारी दिए । लालबन्दी जेसीजले लालबन्दी वडा नं. ५ को वडा कार्यालय, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सिद्धार्थ हेल्थ केयर लालबन्दी ७ सँग समन्वय गरी बेतिनीस्थित दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा स्वास्थ्य परीक्षण तथा छाला रोगसम्वन्धी उपचार गरिएको आयोजकले जनाएको छ । उपचार गर्न आएका स्थानीयलाई स्वास्थ्य समस्या अनुसार औषधिसमेत वितरण गरिएको लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) ले बताए ।
जेसीज सप्ताह अन्तर्गत लालबन्दी जेसीजले आज बिहान लालबन्दी ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई लागुऔषध नियन्त्रण तथा न्यूनिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सहभागी विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले लागुऔषधको प्रयोग गर्दा हुने हानिनोक्सानी, अपराध र सजायका सम्वन्धमा विद्यार्थीलाई सचेत गराएका छन् ।