फूलजोर, १८ चैत – शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको विरोधमा आज सत्तारुढ नेकपा एमाले सर्लाहीले पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको छ ।
राजतन्त्र पक्षधरले तीनकुनेमा प्रदर्शनका क्रममा अराजकता मच्चाएको आरोप लगाउँदै एमाले सर्लाहीले बागमतीदेखि फूलजोरसम्म करिव २२ किलोमिटर राजमार्गमा मोटरसाइकल र्याली निकाल्दै प्रदर्शन गरेको हो । केन्द्रीय कमिटीले ७७ वटै जिल्लालाई गरेको सर्कुलरअनुसार सर्लाहीमा मोटरसाइकल र्याली निकालेर तीनकुने घटनाको विरोध गरिएको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए ।
मोटरसाइकल र्यालीपश्चात फूलजोर चोकमा आयोजित कोणसभालाई सम्वोधन गर्दै एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले प्रतिगामी शक्तिको अराजकताविरुद्ध पार्टी शशक्त भएर लाग्ने बताए । केन्द्रीय कमिटीको निर्देशन अनुसार विभिन्न जिल्लाहरुमा जनप्रदर्शन, आमसभालगायतका कार्यक्रम भएका र सर्लाहीमा भने झण्डै १७ सय मोटरसाइकल सहभागी गराएर र्याली निकालिएको जिल्ला उपाध्यक्ष प्याकुरेलले दावी गरे ।
उनले राजतन्त्रवादीको वितण्डाका सम्वन्धमा वडा तथा पालिकातहमा भेला, छलफलहरु गर्दै जाने बताए । तीनकुने घटनाको विरोधमा पार्टीको केन्द्रीय कमिटीबाट प्राप्त निर्देशन बमोजिम आगामी दिनमा अन्य सङ्घर्षका कार्यक्रम गर्ने एमाले सर्लाहीले जनाएको छ ।