सर्लाही क्याम्पस मलंगवा परिसर । (तस्बीर : विवेक यादव)
लालबन्दी, ०५ चैत – त्रिभुवन विश्वविद्यालय मातहत रहेका सर्लाहीका तीनवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत शान्तपूर्वकरुपमा मतदान सम्पन्न भएको छ ।
सदरमुकाम मलङ्गवास्थित सर्लाही क्याम्पसमा आधा भन्दा कम विद्यार्थी मतदानमा सहभागी भएका छन् । तीन हजार २४९ जना विद्यार्थीमध्ये एक हजार ३६७ जना मात्रै मतदानमा सहभागी भएका निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए ।
सर्लाही क्याम्पसमा एक हजार ८८२ जना विद्यार्थी मतदानमा अनुपस्थित भएका छन् । यस क्याम्पसमा मतदानमा उपस्थित विद्यार्थी भन्दा ५१५ जना बढी विद्यार्थी अनुपस्थित भएका स्ववियु निर्वाचन समितिले जनाएको छ ।
यस्तै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा एक हजार ८४ मतदातामध्ये ७४७ जनाले मत खसालेका निर्वाचन अधिकृत शिवहरि नेपालले जानकारी दिए । जनज्योतिमा ३३७ जना मतदाता मतदानमा सहभागी भएनन् ।
त्यस्तै चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा ८२८ मतदातामध्ये ६६७ जना मतदाता सहभागी भएर मतदान गरेका निर्वाचन अधिकृत डा. हरिलाल मैनालीले जानकारी दिए । सुखेपोखरी क्याम्पसमा १६१ जना विद्यार्थी मतदान गर्न उपस्थित भएनन् ।
तीनवटै क्याम्पसको निर्वाचन समितिले मतपेटिका सङ्कलन, शिलबन्दी, आचारसंहिता निर्माणलगायतको काम गरेर आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरेका छन् ।
क्याम्पस परिसरमा आज दिनभर मतदान चलिरहँदा बाहिर उम्मेदवार, मतदाता विद्यार्थी र विभिन्न दलका नेता तथा जनप्रतिनिधिको भीडभाड देखिन्थ्यो । स्ववियु निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह (ब्याचलर्स) र स्नातकोत्तर तह (मास्र्टस्) मा अध्ययनरत् विद्यार्थीले मतदान गरेका छन् ।
सर्लाहीका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलङ्गवामा तीनवटा सङ्गठन एवं समूह, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा दुुई/दुईवटा विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा रहेका छन् ।
यसै वर्षदेखि स्ववियु निर्वाचन गराउने मान्यता पाएको बागमतीस्थित कर्मैया आर्दश बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।