logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

राजनीतिक स्थायित्व दिन कांग्रेस–एमालेको सरकार : उपप्रधानमन्त्री सिंह


  • उज्यालो अभियान

हरिपुर, २० पुस – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न गठवन्धनको सरकार निर्माण भएको बताएका छन् ।

सर्लाहीको हरिपुर बजारमा आज नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको उद्घाटन गर्दै नेपाली कांग्रेस नेता समेत रहेका मन्त्री सिंहले चाँडो–चाँडो सरकार फेरिनेक्रम रोक्न कांग्रेस र नेकपा एमालेबिच सहकार्य गरेर सरकार गठन गरिएको बताएका हुन् । विकासका कामलाई दीगो ढङ्गले अघि बढाउने सरकारको लक्ष्य रहेको उपप्रधानमन्त्री सिंहको भनाई छ ।

अघिल्लो सरकारले नै बनाएको बजेट अहिले कार्यान्वयनमा रहेकाले स्थानीय तहहरुबाट आइरहेका माग सम्वोधन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री सिंहले आगामी बजेटमा स्थानीय स्तरबाट आएका मागलाई उचित सम्वोधन हुने गरी बजेट निर्माण गरिने उल्लेख गरेका छन् । सहरी विकास मन्त्री सिंहले हरिपुर नगरपालिका–२, स्थित हरिपुर बजारमा भाडामा लगाउने गरी निर्माण गरिएको व्यापारिक भवनको ब्यानर अनावरण तथा रिवन काटेर उद्घाटन गरेका हुन् ।

हरिपुर बजारमा तीनतले व्यावसायिक भवन निर्माण गर्न र हरिपुर नगरपालिकाकै वडा नं. १ हजारबिघामा साँढे तीन किलोमिटर कालोपत्रे सडक निर्माणका लागि एकमुष्टमा १३ करोड ३८ लाख ३२ हजार ४८४ रुपियाँ ३२ पैसामा ठेक्का लागेको थियो । गत असारमै निर्माण सम्पन्न भएको व्यावसायिक भवनको आज औपचारिक उद्घाटन गरिएको हो ।

नवनिर्मित व्यावसायिक भवन अब नगरपालिकाले व्यापारीलाई भाडामा लगाउने हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । व्यावसायिक भवन उद्घाटन गर्न आफ्नो नगरमा आउनुभएको अवसर पारेर हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारले सहरी विकास मन्त्री सिंहलाई हरिपुर १ जानकीनगर र हरिपुर २ हरिपुर बजारलाई जोड्ने गरी लखन्देही खोलामा पुल निर्माणका लागि बजेट पारिदिन आग्रहसहितको पत्र बुझाएका छन् ।

मन्त्री सिंहले आजै कांग्रेस क्षेत्र नं. ३ ले जानकीनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत सम्वोधन गर्नुभएको छ ।