प्रतिकात्मक तस्बिर ।
हरिवन, ०९ पुस – सवारी दुर्घटनामा परेर हरिवन नगरपालिकामा कार्यरत एक नगर प्रहरीको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका-११, मालपोत कार्यालय अगाडि इन्दुशङ्कर चिनी उद्योग हरिवनमा उखुु पुर्याएर फर्किएको ट्याक्टरमा स्कुटर ठोक्किँदा स्कुटरका चालक हरिवन नगरपालिका-८, चापिनीका २५ वर्षीय कवि रिखाम मगर मृत्युु भएको छ । गएराति ११ बजेतिर चिनी मिलमा उखुु खन्याएर बरहथवा नगरपालिकाको हीरापुरतर्फ फर्किदै गरेको ना. ६ त ३०५० नम्वरको ट्याक्टरमा मगरले चलाएको बागमती प्रदेश-०२-०२८ प ६५०८ नम्वरको स्कुटर ठोक्किएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुुर्घटनामा गम्भीर घाइते भएका मगरलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि न्यूरो अस्पताल बारा लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्कुटरकाे पछाडी सबार हरिवन-८ निवासी ४५ वर्षीय रामजी बस्नेत घाइते भएका छन् । प्रहरीका अनुसार उनकाे स्वाभिमान अस्पतालमै उपचार भइरहेकाे छ ।
मृतक मगर हरिवन नगरपालिका कार्यालयमा नगर प्रहरीको रुपमा कार्यरत थिए । उनको निधनप्रति दुःख व्यक्त गर्दै हरिवन नगरपालिकाले आज मंगलबार नगरभित्र शोक बिदा दिएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालकको खोजी भइरहेको इप्रका हरिवनका इन्स्पेक्टर किशोर मोक्तानले जानकारी दिए ।