दिवंगत शिक्षक दीपेन्द्र चौधरी ।
बरहथवा, ०७ पुस – सर्लाहीको बरहथवा नगरपालिकाले आज नगरभित्र शोक बिदा दिएको छ ।
वडा नं. १५ सुन्दरपुर चोहड्वास्थित माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्र चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै बरहथवा नगरपालिकाले आज एक दिनका लागि शोक बिदा दिएको हो । प्राथमिक तहका स्थायी शिक्षक ४७ वर्षका चौधरीको गएराति हृदयघात भएर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
चौधरीको निधनपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले एक सूचना जारी गर्दै नगरपालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्था आज एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
दिवंगत शिक्षक चौधरीको आज दिउँसो बागमती नदीमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।