logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ढुंगा प्रहारबाट घाइते वृद्धाको उपचारका क्रममा मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी, ०७ पुस – सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुङ्गाले लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्युु भएको छ ।

ढुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आज बिहान मृत्युु भएको हो । बोम्जनको उपचारका क्रममा लालबन्दी बजारस्थित म्याक्स अस्पतालमा मृत्युु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उनलाई गत मङ्सिर २७ गते राति घर नजिकै भएको झै–झगडामा संलग्न व्यक्तिलाई छुट्याउन जाँदा ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुङ्गाले लागेर टाउकोमा गहिरो चोट लागेको थियो ।

सोही दिन लालबन्दी १५ को तल्लो देउरालीमा विवाहको भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबीच विवाद भएपछि वृद्धा विष्णुुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुग्दा घटना भएको हो । स्थानीयका अनुसार विवाह भोजबाट फर्किएका वीरबहादुर मदिरा सेवनबाट मात्तिएका थिए ।

ढुङ्गा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन ।

ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक पाठकले बताए ।