प्रतिकात्मक तस्बिर ।
लालबन्दी, ०५ पुस – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा गएसाँझ मोटरसाइकलको ठक्करबाट मृत्यु भएका वृद्धको सनाखत भएको छ ।
मृतक हरिपुर नगरपालिका–६, लक्ष्मीपुरका ६७ वर्षीय अवधी चौधरी रहेको खुलेको हो । भाई आएर आज मृतकको सनाखत गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
मृतकको शव पोेष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ । चौधरी प्रायः घरबाहिर हिँडिरहने गरेको परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका छन् ।
गएसाँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि दुर्घटनामामा चौधरीको मृत्युु भएको थियो । लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्युु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय निरज लामाको काठमाडौंमा उपचार जारी छ ।