logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अन्तर्राष्ट्रिय आप्रवासी दिवस : मलंगवामा सडक नाटक देखाइयो


  • उज्यालो अभियान

मलंगवा, ०३ पुस – आज डिसेम्बर १८ तारिख अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस, सर्लाहीमा पनि मनाइएको छ ।

यही दिवसका अवसरमा सदरमुकाम मलंगवामा नगरपालिका कार्यालयको आयोजनामा सचेतनामूलक सडक नाटक प्रदर्शन गरी दीप प्रज्वलन गरिएको छ । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोेपाल कुमार अधिकारी, प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरिक्षक विनोदराज खनाललगायतको उपस्थितिमा मलंगवा नगरपालिकाको कार्यालय अगाडि सडक नाटक देखाइएको हो ।

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूूर्व प्रकृया पुर्याएर सिप सिकेर विदेश नजाँदा हुने समस्या, मृत्यु हुँदा कामदारले पाउने क्षतिपूर्ति रकम, सुरक्षित आप्रवासनको भूूमिका लगायतको सूचनाहरु नाटक मार्फत देखाइएको छ ।

कार्यक्रममा सुरक्षित आप्रवासन केन्द्र सर्लाहीका अध्यक्ष दिनेश राय, सामी पपिरयोजनाका संयोजक राजनारायण सिंहलगायतको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उदेश्य हो । नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण मानिन्छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले ठूलो योगदान पु¥याउँदै आएको छ । भारतबाहेक विश्वका एक सय ७३ देशमा नेपाली श्रमिक पुगेको तथ्याङक छ ।

श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति भए पनि नीतिअनुसार काम हुन नसकेको गुनासो छ ।