नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०२ पुस – तीन दिन लगातार परेको बिदापछि अस्पताल खुल्दा लालबन्दीस्थित नगर अस्पताल डुुमडुुमेमा बिरामीको अत्यधिक चाप देखिएको छ ।
शनिबार नियमित सार्वजनिक बिदा, आइतबार उधौली पर्वको बिदा र सोमबार लालबन्दी ३ जब्दीका एक जना वडा सदस्यको निधनमा नगरपालिकाले दिएको शोक बिदाका कारण गत शुक्रबारदेखि आज मात्रै अस्पतालको ओपिडी सञ्चालन भएको हो । लगातारको बिदापछि अस्पताल खुलेकाले आज एकै दिन २६० जना बिरामीले ओपिडीमा सेवा लिएका नगर अस्पताल लालबन्दीका मेडिकल सुुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए ।
डा. चौधरीका अनुसार २६० जना बिरामीमध्ये अधिकांशमा रुघाखोकी र ज्वरोको सङ्क्रमण देखिएको छ । पछिल्लो समय नगर अस्पताल लालबन्दीमा छात्रावृत्तिमा खटिएका मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सक समेत बस्न थालेसँगै बिरामीको चाप बढिरहेकै छ ।
निजी स्वास्थ्य संस्थामा चर्को शुल्क तिरेर उपचार गराइरहेका सर्वसाधारण अहिले नगर अस्पतालमै आउन थालेका छन् । अस्पतालमा सञ्चालित प्रयोगशाला (ल्याब) मधेश प्रदेशभरमा सबैभन्दा उत्कृष्ट ठहरिएपछि ल्याबमा समेत परीक्षणका लागि पुुग्ने सेवाग्राहीको सङ्ख्या बढेको छ ।
नगर अस्पताल लालबन्दीमा लालबन्दीसहित छिमेकी पालिका र सिन्धुलीको मरिण तथा क्यानेश्वर क्षेत्रका स्थानीय समेत औषधि, उपचारका लागि आउने गरेका मेडिकल सुुपरिटेन्डेन्ट डा. चौधरीले उज्यालो अभियानसँग बताए ।