logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा आज शोक बिदा, लगातारको बिदाले सर्वसाधारणलाई भने सास्ती


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, ०१ पुस – लालबन्दी नगरपालिकाले आज नगरभर शोक बिदा दिएको छ ।

वडा नं. ३ जब्दीका वडा सदस्य जोधन ठाकुर हजामको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिका कार्यालयले आज सोमबार एक दिनका लागि नगरका १७ वटै वडामा बिदा दिने घोषणा गरेको हो । नगरप्रमुख बासुदेव अधिकारीले हिजै एक सूचना जारी गरी वडा सदस्य हजामको निधनप्रति दुःख व्यक्त गर्दै आज शोक बिदा दिइएको उल्लेख गरेका छन् ।

उक्त सूचनामा आज लालबन्दी नगरपालिकाको कार्यालय, १७ वटै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थासहित नगरपालिका मातहतका सम्पूर्ण निकाय बन्द रहने उल्लेख गरिएको छ । लालबन्दीका बैंक तथा बित्तीय संस्था भने खुुल्ने छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित ७२ वर्षीय वडा सदस्य हजामको दुवै मृगौलाले काम गर्न छाडेको थियो । उनको हिजो बिहान जब्दीस्थित आफ्नै घरमा निधन भएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।

यता, जनज्योति माध्यमिक विद्यालय लालबन्दीले सूूचना प्रकाशित गरी आज शोक बिदाका कारण विद्यालयमा पठनपाठन नभए पनि कक्षा ११ र १२ को पूर्व निर्धारित परीक्षा संचालन हुने जानकारी गराएको छ । आज पुस १ गतेको परीक्षा पूर्व निर्धारित तालिका अनुसार नै हुने विद्यालयले जनाएको हो । पठनपाठनका लागि भन्दै आज बिहानै स्कुल पुुगेका विद्यार्थी बिदाको सूूचनापछि घर फर्किएका छन् ।

यसैबिच लगातार बिदा पर्दा यहाँ सर्वसाधारणले सास्ती खेप्नुु परेको गुनासो पोखेका छन् । लालबन्दी नगरपालिकाले फेसबुुकमार्फत सार्वजनिक गरेको शोक बिदामा कतिपय स्थानीयले लगातारको बिदाका कारण सास्ती पाएको भन्दै ‘कमेन्ट’ व्यक्त गरेका छन् ।

जनप्रतिनिधिको निधन हुँदा यसरी शोक बिदा दिने परिपाटी नै रहेको पालिकाले प्रष्ट पारेको छ ।

लगातारको बिदाले सरकारी स्वास्थ्य चौकी तथा अस्पताल बन्द रहँदा बिरामी समेत मारमा परेका छन् । वडा कार्यालय तथा नगरपालिका मातहतका निकायमा अत्यावश्यक काम परेका सर्वसाधारणले पनि सास्ती पाएका छन् ।