घारिबथान, २५ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको तिलकबहादुर खड्का स्मृति प्रतिष्ठानले स्थानीय एक विद्यालय र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
प्रतिष्ठानको औपचारिक उद्घाटनका अवसरमा हिजो कालिन्जोरस्थित जनता प्राथमिक विद्यालय नयाँटोलमा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको हो । प्रतिष्ठानले विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत् करिव एक सय जना विद्यार्थीलाई विभिन्न शैक्षिक सागम्री वितरण गरेको प्रतिष्ठानका सचिव तथा नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय कालिन्जोरका शिक्षक भिमबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै प्रतिष्ठानले विद्यालयलाई ३२ इन्चको एक थान स्मार्ट टिभी र एक थान भित्ते घडी समेत प्रदान गरेको छ । सोही कार्यक्रममा अखिल नेपाल फुटबल संघ सर्लाहीको तर्फबाट संघका उपाध्यक्ष विभुसिंह थापाले विद्यालयलाई दुई थान फुटबल हस्तान्तरण गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष सविता खड्का (कार्की) को अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्री (शिव), लालबन्दी नगरपालिका–१६, परवानीपुरका वडाध्यक्ष गणेशबहादुर थापा, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति हरिबहादुर लुंगेली, कांग्रेसकै पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका अध्यक्ष दीपक अधिकारीले मन्तव्य व्यक्त गरे ।
त्यसैगरी नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय कालिन्जोरका अध्यक्ष नारायण ठोकर, जनता प्राथमिक विद्यालय नयाँटोलका अध्यक्ष नागेन्द्रकुमार पाख्रिन, डिम जनता माध्यमिक विद्यालय परवानिपुरका प्रधानाध्यापक ध्रुबबहादुर भण्डारी, नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय कालिन्जोरका प्रधानाध्यापक रामवृक्ष महतो, जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपाने, अखिल नेपाल फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापा, नेकपा एमाले वडा कमिटीका अध्यक्ष इश्वरी चापागाई, माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष गंगाराम विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति राजनप्रसाद दाहाल, ग्रामीण नारी उत्थान संघकी बिन्दा लुंगेलीलगायतले मन्तव्य राखेका छन् ।