मलंगवा, २१ मंसिर – सर्लाहीमा आजबाट बाक्लो हुस्सु लाग्न थालेसँगै चिसो अझ बढेको छ ।
यहाँ आज बिहान बाक्लो हुस्सु लागेर अत्यधिक शीत झरेको थियो । दिउँसो केहीबेर पारिलो घाम लाग्यो । अहिले साँझबाट पुनः बाक्लो हुस्सु लागेर शित पार्न थालेको छ ।
आजबाट चिसो बढेसँगै अतिविपन्न र दिनहुँ मजदुर गरेर पेट पाल्ने परिवारमा समस्या उत्पन्न हुन थालेको छ । ताता ओढ्ने ओछ्याउने नभएका परिवारलाई चिसो बढेसँगै कसरी न्यानो भएर बस्ने र चिसोबाट जोगिने भन्ने चिन्ता पर्न थालेको हो ।
यो मौसममा स–साना बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, अशक्त र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई चिसोजन्य स्वास्थ्य समस्या पर्ने भएकाले सावधानी अपनाउन चिकित्सले आग्रह गरेका छन् । अहिले चिसोसँगै धुलो, धुुँवाको प्रदुुषण पनि उत्तिकै छ ।
चिसो बढ्दै गएपनि सर्लाहीसहित तराई क्षेत्रमा यो वर्ष अझै लामखट्टेको आतंक छ । धेरै मानिस जाडोको बेलामा पनि डेंगुुबाट ग्रसित छन् ।
यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले बाक्लो हुस्सु लाग्न थालेसँगै सवारी दुर्घटनाको जोखिम बढेकाले सावधानी अपनाउन पैदलयात्री र सवारी चालकसँग अनुरोध गरेको छ ।
त्यस्तै हुस्सु लाग्न थालेसँगै गोलभेँडा, लहरी, तोरी, आलुलगायतका बालीमा ठण्डीजन्य संक्रमण लाग्ने चिन्ता किसानमा पर्न थालेको छ ।