हरिपुर, २० मंसिर – सर्लाहीको हरिपुर नगरपालिकाले मंसिर २४ र २५ गते पनि स्थानीय बिदा दिएको छ ।
नगरप्रमुख गोपालकुमार पन्जियारले आज एक सूचना जारी गर्दै नगरपालिकाको दुुई स्थानमा समेत गढिमाई मेला महोत्सव लागिरहेकाले मंसिर २४ गते सोमबार र २५ गते मंगलबार समेत स्थानीय सार्बजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।
बारामा लाग्ने गढिमाई मेला महोत्सवका लागि प्रदेश सरकारले मंसिर २३ गते आइतबार बिदा दिइसकेको छ ।
मधेश प्रदेशमा मंसिर २१ गते शुक्रबार पनि बिबाह पन्चमीका अवसरमा सार्वजनिक बिदा नै रहेको छ ।
सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा अहिले गढिमाई मेला महोत्सवको उल्लास छ । प्रतिस्पर्धाकै रुपमा टोलटोलमा गढिमाई मेला महोत्सव आयोजना गरिएका छन् ।
कविलासी नगरपालिकाको वडा नं. ६ जमुनियाँमा आज गढिमाई मेला महोत्सवको मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले उद्घाटन गर्नुुभएको छ ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, कविलासीका नगरप्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्णलगायतको आतिथ्यता रहेको थियो ।