बलरा, १८ मंसिर – सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने जोड दिएकी छन् ।
मन्त्री भट्टराईले आज सर्लाहीको बलरास्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा आयोजित विज्ञान प्रदर्शनी मेलालाई सम्वोधन गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीले देखाउने गरेका प्रतिभालाई राज्यले प्रोत्साहन गरेर अझ अगाडि बढाउनुपर्ने बताएकी हुन् । प्रदर्शनीमा विद्यार्थीले राखेका विज्ञान तथा प्रविधिका स्टलको निरीक्षण गरेकी मन्त्री भट्टराईले विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई अघि बढाउने दायित्व तीनै तहका सरकारको रहेको उल्लेख गरिन् ।
विद्यार्थीले प्रस्फुटन गरेको प्रतिभा देखेर खुुसी लागेको भन्दै मन्त्री भट्टराईले अहिलेको युगमा व्यवहारिक शिक्षा अतिआवश्यक रहेको बताए । मधेशमा शिक्षकको अभाव र खस्कँदो शिक्षाको स्तरप्रति उनले चिन्ता व्यक्त गरिन् । मधेशको शैक्षिक स्तर माथि उकास्न र शिक्षकको परिपूर्तिका लागि आफ्नो पहल रहने मन्त्री भट्टराईले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
“विज्ञान र नवीनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता” भन्ने मूूल नाराका साथ बलरा नगरपालिकाले यूनेस्कोसँग सहकार्य गरी दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गरेको हो । प्रदर्शनीमा स्टल राख्नका लागि १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौटमा परेका छन् ।
मेलामा उत्कृष्ट ठहर हुने विद्यालयलाई पुरस्कृत गरिने छ । माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै आधारभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले १५ लाख र युुनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेका छन् । प्रदर्शनी भोलीसम्म चल्ने छ ।
बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाको अध्यक्षतामा आयोजित प्रदर्शनीको उद्घाटन समारोहमा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, संविधान सभा सदस्य शिवपुजन रायलगायतले सम्वोधन गरे ।