logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा आयोजित विज्ञान प्रदर्शनी मेलाको तयारी पूरा


  • उज्यालो अभियान

बलरा, १७ मंसिर – सर्लाहीको बलरामा आयोजना गर्न लागिएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको तयारी पूरा भएको छ ।

आयोजकले गएसाँझ सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी विज्ञान प्रदर्शनी मेलाको तयारी पूरा भएको जानकारी गराएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाले मङ्सिर १८ गते भोली र १९ गते पर्सी जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्दैछ ।

बलरा नगरपालिका–८, मा रहेको जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा हुुने विज्ञान प्रदर्शनीको तयारी लगभग पूरा भइसकेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले बताए । विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्यले दुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरिसकेको छ । प्रदर्शनीमा स्टल राख्नका लागि १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौटमा परेका युनेस्काका सहायक महासचिव रामेश्वर प्रसाद यादवले बताए ।

मेलामा उत्कृष्ट ठहर हुने विद्यालयलाई पुरस्कृत गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त इकाइ प्रमुख रामवृक्ष महतोले बताए । माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै आधारभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले १५ लाख र युुनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेका छन् ।

जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियाका प्रधानाध्यापक प्रमोद रायले विद्यालयमा जिल्लामै पहिलो पटक विज्ञान प्रदर्शनी मेला आयोजना हुुन लाग्दा असाध्य खुसी लागेको बताए । प्रदर्शनीको मङ्सिर १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने छिन् ।