logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चिसो बढ्दा जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, १३ मंसिर – सर्लाहीसहित तराई क्षेत्रमा दिनानुदिन चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ ।

केही दिनदेखि तराई क्षेत्रमा राम्रोसँग घाम लाग्न सकेको छैन् । आज भने मौसम केही उघ्रिएर बिहानैदेखि घाम लागिरहेको छ । दिनभर हुस्सु, तुँवालो लागेर घाम देखा पर्न नसक्दा चिसोले जनजीवन प्रभावित बन्न थालेको हो ।

बढ्दो चिसोले गरिब, असहाय तथा न्यून आय भएका परिवार बढी प्रभावित हुन थालेका छन् । सर्लाहीको ग्रामीण भेगका अतिविपन्न परिवार चिसोबाट बच्ने उपायको खोजीमा लागेका छन् । उनीहरु घर तथा गोठमा हावा छेक्न बेराघेरा मर्मत गर्ने, शित चुहिने घर छाउने, आगो ताप्ने दाउराको जोहो गर्ने काममा लागेका हुन् ।

घाम नलाग्दा धोएको कपडा सुुक्न पाएको छैन् । मङ्सिरमै हुस्सुु, कुहिरो लागेर बढ्दो चिसोबाट बालबालिका, वृद्धवृद्धा, अशक्त र दम तथा अन्य दीर्घ रोगी भएका बिरामीमा स्वास्थ्य समस्या बढ्न थालेको छ । अहिले चिसोसँगै धुलो, धुुँवा र प्रदुुषण समेत अत्यधिक बढेको छ ।

चिकित्सकले यस्तो मौसम भएको समयमा स्वास्थ्य समस्या बढ्ने भएकाले विशेष ख्याल गर्न अपिल गरेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा अहिले चिसो तथा प्रदुषणबाट हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दो छ ।

डा. देवेन्द्र यादवले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धालगायत अन्य व्यक्तिमा रुघाखोकी, ज्वरो, श्वासप्रश्सास, घाँटी दुुख्नेसहित अन्य चिसो तथा धुुलो, धुँवाजन्य स्वास्थ्य समस्या बढेको जानकारी दिए । उनले चिसोमा घरभित्रै न्यानो भएर बस्न, बाहिर निस्कनुपर्दा ताता कपडा लगाउन र धुलोबाट जोगिने उपाय अपनाउन सुुझाव दिए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले केही दिनदेखि मौसम धुुम्म भएर भिजिबिलिट निकै कम भएकाले सवारी साधन सञ्चालन गर्दा वा सडकमा पैदल हिँड्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैगरी धान काटेर खेतमा सुकाइरहेका किसान घाम नलाग्दा धान सुुक्न नपाएको भन्दै चिन्तित बनेका छन् ।