गोडैता, १३ मंसिर – सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह संचालनमा आएका छन् ।
अन्नपूर्ण चिनी उद्योग तीन दिनअघि देखि संचालनमा आएको धनकौल गाउँपालिका–२, का रामकल्याण यादवले जानकारी दिए । उद्योगले बलरा, रामनगरलगायत सीमावर्ती क्षेत्रका किसानबाट उखु खरिद गरेर क्रसिङ सुरु गरेको हो ।
सीमावर्ती क्षेत्रबाट उद्योगले उखु ल्याएर धमाधम क्रसिङ गरिरहे पनि आफूहरुले उद्योगबाट पुरानो बक्यौता नै नपाएकाले तत्काल उखुु नदिने यादवले बताए । यो वर्ष उखुको मूल्य तोक्न बाँकी नै रहेकाले उद्योगले तत्काल किसानलाई प्रतिक्विन्टल ५६५ रुपियाँका दरले भुक्तानी दिने सहमतीमा किसानबाट उखु लिइरहेको छ ।
दक्षिणवर्ती भेगस्थित महालक्ष्मी चिनी उद्योग बगदहले पनि आजबाट उखु क्रसिङ सुरु गरेको छ । आज दिउँसो २ बजेबाट उखुु पेल्न सुुरु गरिएको महालक्ष्मी चिनी उद्योगका उखु प्रवन्धक पवनसिंह यादवले बताए ।
महालक्ष्मीले किसानलाई अघिल्लो वर्षको दुुई करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताएका छन् । उद्योगले १० दिनभित्र पुरानो बक्यौता र नयाँ उखुको भुुक्तानी दिने सहमती भएको उखु किसान समेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले जानकारी दिए ।
यस्तै जिल्लाको उत्तरी भेगमा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन भने दुुई सातापछि मात्रै संचालन हुने भएको छ । इन्दुशङ्करका उखु प्रवन्धक योगनारायण रजकले मङ्सिर २७ गतेदेखि उद्योग चालू गर्ने तयारी भइरहेको बताए ।
इन्दुशङ्करले किसानलाई अघिल्ला वर्षहरुको सम्पूर्ण भुक्तानी गरिसकेको छ । तराई मधेशका चिनी उद्योग धमाधम संचालनमा आएपनि सरकारले उखुुको मूल्य तोक्न बाँकी नै रहेको छ ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले वर्षेनि झैँ सरकारले उद्योगीको इसारामा उखुुको मूूल्य तोक्ने प्रयास गरिरहेको आरोप लगाए ।