हरिपूर्वा, १२ मंसिर – सर्लाहीको हरिपूर्वामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् सवस्टेशन चार्ज गर्न सुरु गरिएको छ ।
निर्माण कार्य पूरा भएको दुुई वर्ष बितिसक्दा पनि हरिपूर्वा र ईश्वरपुर नगरपालिकाको केही स्थानमा पोल गाड्ने विषयमा विवाद हुुँदा सवस्टेशन अलपत्र रहेको थियो । लामो प्रयासपछि पोल गाड्ने काम सम्पन्न गरी प्राधिकरणले सवस्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर चार्ज गर्ने काम अघि बढाएको हो ।
प्राधिकरणको जनकपुरस्थित प्रादेशिक कार्यालयका इलेक्ट्रिकल फोरम्यान मौजे पण्डितले स्टेशन ट्रान्सफर्मर चार्ज सकेर पावर ट्रान्सफर्मर चार्जिङको काम भइरहेको जानकारी दिए ।
पण्डितका अनुुसार अहिलेसम्मको परीक्षणमा सवस्टेशनको अवस्था ठीकठाक देखिएको छ । चार्जिङको काम सकेर अब एक हप्ताभित्रमा लोड दिने अर्थात् मलङ्गवाबाट तानिएको बत्ती काटेर हरिपूर्वा सवस्टेशनबाटै बत्ती छाड्ने तयारी रहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ ।
लामो प्रयासपछि सञ्चालनमा आउन लागेको हरिपूर्वा सवस्टेशनमा चार्जिङको काम भइरहँदा जनकपुरबाटै प्राविधिक परिचालन गरिएको छ । आज थप परीक्षण र सवस्टेशनको अवस्था बुुझ्न काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट प्राविधिक टोली आउन लागेको बुुझिएको छ ।
हरिपूर्वाको सवस्टेशन चालू नहुँदा जिल्लाको पूर्वी भेगमा सदरमुकाम मलङ्गवादेखि बत्ती ल्याउनुपर्दा लामो प्रशारण लाइनका कारण छिनछिनमै बत्ती कट्ने, बत्ती आउँदा भोल्टेज नहुने, कुनै प्राविधिक गढबढी हुँदा १२ घण्टा भन्दा बढी समय बत्ती नआउने जस्ता समस्या थियो । हरिपूर्वाको सवस्टेशन सञ्चालन भएपछि पूर्वी बेल्टको हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र चन्द्रनगर गाउँपालिकाको विद्यूत् नियमित हुनुका साथै भोल्टेजको स्तर बढ्ने प्राविधिकले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पु¥याइएको छ ।
सवस्टेशनबाट ११ केभीको दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी रहेको प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।