प्रतिकात्मक तस्बिर ।
हरिवन, १० मंसिर – सर्लाहीकाे हरिवनमा आइतबार साँझ दुइवटा माेटरसाइकल जुध्दा चारजना घाइते भएका छन् ।
हरिवन नगरपालिका-११ स्थित कडरीया चोकबाट नारायण चोकतर्फ जाँदै गरेको बा. ३९ प ४६२६ नम्बरको मोटरसाइले विपरित दिशाबाट आउँदै गरेको ना. ८ प ७६६८ नम्बरको माेटरसाइलाई ठक्कर दिँदा दुवै मोटरसाइकलमा सवार ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर ना. ८ प ७६६८ नम्बर माेटरसाइकल चालक हरिवन-११ निवासी २१ वर्षीय राजाराम ठाकुर, साेही माेटरसाइकलकाे पछाडी सवार २१ वर्षीय सुमन अघिकारी घाइते भएका छन् । त्यसैगरि बा. ३९ प ४६२६ नम्बर मोटरसाइकल चालक हरिवन नगरपालिका-८ निवासी करिब ३० वर्षीय अर्जुन खत्री र साेही माेटरसाइकल पछाडी सवार खत्रीकी छोरी १० वर्षीया अस्निया खत्री घाइते भएका छन् ।
घाइतेहरुकाे अवस्था सामान्य रहेकाे र हरिवन स्थित नमूना अस्पतालमा उपचार भएकाे प्रहरीले जनाएकाे छ ।