बयलबास, २० कात्तिक – सर्लाहीकाे बयलबासबाट महाेत्तरीकाे गौशलातर्फ जाँदै गरेको लु. २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालक सहित २ जना वेपत्ता भएका छन् ।
मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका-२ मियाँखोर स्थित सरस्वती उमाविको पोखरीमा कार डुबेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । कारमा सवार ३ जना मध्ये महोत्तरीकाे गाैशला नपा-२ निवासी बिहारी राय यादवको छाेरा ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किन सफल भएका छन् । कार चालक गौशला नपा-१० निवासी धनराज महतोको छोरा ३८ वर्षीय सुरेश महतो र महोत्तरीकाे सोनवा गापा-८ निवासी नबल किशोर ठाकुरको छोरा ३७ वर्षीय रामाकान्त ठाकुर कार सहित पोखरीमा डुबेर वेपत्ता भएकाे स्थानीय बासिन्दाले खबर गरेपछि सुरक्षाकर्मीहरुकाे टाेली घटनास्थल पुगेर उद्धारकाे प्रयास गरिरहेकाे छ ।
इलाका प्रहरी कार्यालय केशरगंज, भक्तिपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेशबाट उद्धार सामाग्रि सहित टोली खटिएकाे र गोताखोर टोलीको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवाससँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायाे ।