बरहथवा, १७ कात्तिक – सर्लाहीको बरहथवा नगरपालिका-७, बरहथवा बजारमा गएराति भएको भीषण आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
स्थानीय किसुन दासको घरमा संचालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले संचालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बरहथवाका डिएसपी गौतम थापाले राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिव पौने तीन करोड बराबरको क्षति भएको जानकारी दिए । डिएसपी थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सरसामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ ।
आगलागी नियन्त्रण गर्न दुई घण्टा भन्दा बढी समय लागेको छ । गएराति साँढे ११ बजेतिर सुरु भएको आगलागी आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताए ।
स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।
मुख्यबजारमा भएको आगलागी सबैको सहयोगमा नियन्त्रणमा लिन सफल भएकाले थप पसल तथा घरहरुमा क्षति हुन नपाएको स्थानीय वासिन्दाले बताएका छन् ।