logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राति चुरेवर्ती क्षेत्रमा वर्षा, दुई पटक छरिएको दलहन तथा तेलहन बालीमा फेरि क्षति


  • उज्यालो अभियान

फाइल तस्बीर ।

परवानिपुर, १७ कात्तिक – सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपास गएराति वर्षा भएको छ ।

जिल्लाको चुरेवर्ती क्षेत्रका अत्रौली, नारायणखोला, परवानिपुर, पत्थरकोट, घारिबथानलगायत क्षेत्रमा एकझर ठूलो पानी परेको हो । चुरेवर्ती क्षेत्रमा धेरै किसानले धान भित्र्याइसकेका थिए । तर केही किसानले धान काटेर खेतमा निन सुकाएकोमा रातिको पानीले भिजाइदिएको छ ।

त्यस्तै चुरेभेगमा दुई साताअघि पानी परेर तोरी, चना, मुसुरोलगायतका दलहन तथा तेलहन बाली नउम्रिएपछि किसानले ति बाली फेरि दोहोर्याएर छरेका थिए ।

रातिको पानीले पुनः सबैखाले बाली बिगारिदिएको किसानले बताएका छन् । जोताई खर्च र बीउबीजन खेर गएको र खेतबारी बाँझो बस्ने स्थिति आएको गुनासो किसानले गरेका छन् ।

रातिको पानीले गोलभेँडासहितका अन्य तरकारी बालीमा पनि फेरि क्षति गरेको छ । यो वर्ष बेमौसमी वर्षाले किसानको ठूलो क्षति गरिरहेको छ ।

राति जिल्लाको चुरेवर्ती क्षेत्रमा बाढी बग्ने गरी पानी परेपनि पूर्व पश्चिम राजमार्ग क्षेत्र र सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने वर्षा हुन सकेन ।

जिल्लामा आज पनि मौसम धुम्म देखिन्छ । आधा कात्तिक सक्किँदा पनि तराई क्षेत्रमा अहिले भित्रीरुपमा दिनभरजसो गर्मी हुने गरेको छ ।