हरिवन, १५ कात्तिक – सर्लाहीमा आजबाट तिहार तथा छठ पर्व मनाउन गाउँघर आउने झनै बढेका छन् ।
आजबाट सरकारी कार्यालयहरु बन्द भएकाले पनि तिहार र छठ मनाउन गाउँ फर्किनेहरु बढेका हुन् । सर्लाहीको पूर्व-पश्चिम राजमार्गमा आजबाट मोटरसाइकल, साना निजी सवारी र सार्वजनिक अन्य सवारी साधनमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले तिहार र छठले गर्दा राजमार्गमा सवारीको चाप बढ्दै गइरहेको जानकारी दिए । तिहार र छठ पर्व मनाउन विद्यार्थी, कर्मचारी र अन्य घर फर्किएकाले गाउँघरमा पुनः मानिसको चहलपहल बढेको छ ।
पर्सी १७ गतेसम्म नै तिहार मनाउन घर फर्किनेक्रम जारी रहन्छ । यो बेला पूर्व पश्चिम राजमार्गमा सवारीको चाप बढेर दुर्घटनाको जोखिम समेत रहने भएकाले सडक डिभिजन कार्यालयले सर्लाहीखण्डको पूर्व पश्चिम राजमार्ग क्षेत्रको खाल्डाखुल्डी पुर्ने काम गरिसकेको छ ।