लालबन्दी, १४ कात्तिक – तराईका जिल्लामा छठपूजाका लागि छठघाट निर्माण कार्य सुरु भएको छ ।
यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठघाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ ।
छठ पर्व आउन एक साता भन्दा बढी समय बाँकी रहँदा सर्लाहीमा २० वटै पालिकामा जलाशय किनार सरसफाई गरी धमाधम छठघाट निर्माणको काम भइरहेको स्थानीयले बताएका छन् । छठघाट निर्माणका लागि कतै स्थानीय वासिन्दा आफै त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठघाट निर्माणको काम अघि बढाएका छन् ।
प्रायः ठाउँमा छठघाटमा बाँसको खट बाध्ने, बत्ती जडान गर्ने, टेन्ट राख्नेलगायत कामका लागि वडा कार्यालयले सहयोग गर्ने गरेका छन् । लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले आफ्नो वडाभित्र दुईठाउँमा छठपूजा हुने गरेको र दुवै ठाउँमा छठघाट निर्माण गर्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले नै बेहोर्ने बताए ।
वडाध्यक्ष कार्कीका अनुसार लालबन्दी ७ मा डुमडुमे मन्दिर र मन्दिरदेखि दक्षिण वडा नं. ७ र ९ को सीमामा पर्ने डुमडुमे खोलामा छठघाट निर्माणको काम सुरु भइसकेको छ । छठघाट आसपास सरसफाई गर्ने कामका लागि वडाबाटै मजदुर खटाइएको वडाध्यक्ष कार्कीले बताए ।
अधिकांश स्थानमा दीपावलीअघि नै छठघाट तयार पार्र्ने गरी तयारी भइरहेको स्थानीयले बताएका छन् । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले छठघाट तयार पार्न नगरपालिकाबाट जेसीबी पठाउने गरिएको र अन्य सरसहयोग वडाबाट हुँदै आएको बताए ।
बरहथवाका १८ वटा वडाको सय भन्दा बढी स्थानमा छठघाट निर्माण गरेर छठपूजा हुने नगरप्रमुख कटुवालले जानकारी दिए । छठपर्वमा व्रतालुहरुले छठको मुख्य दिन सँझिया घाट अर्थात् छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलीपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने प्रचलन रहेको छ ।
व्रतालुहरु अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन् ।