logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुर्घटनामा परेको ट्रकबाट भन्सार छलीको आलस र तिल बरामद


  • उज्यालो अभियान

लालबन्दी, १० कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा दुर्घटनामा परेको ट्रकबाट प्रहरीले भन्सार छलेर ल्याइएको आलस र तिल बरामद गरेको छ ।

हिजो बिहान साँढे ७ बजेतिर जुटपानीस्थित ब्रम्हस्थान नजिक भित्री सडकमा पाँचकुमारीबाट नवलपुरतर्फ आउँदै गरेको ग १ ख ३५९५ नम्वरको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनापछि उद्धारका लागि पुगेको इलाका प्रहरी कार्यालय नवलपुरले ट्रकभित्रबाट आलसको कम मुल्यको बिल बनाएको र तिलको कुनै पनि बिलबिजक नै फेला नपरेपछि बरामद गरेर कारवाही अघि बढाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको लालबन्दी प्रहरीले जनाएको छ । ट्रकबाट ४ हजार केजी आलस र एक हजार ५०० केजी तिल बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिए ।

उनका अनुसार बरामद भएको आलस, तिल, ट्रकका चालक बरहथवा नगरपालिका–५, का अनिल महतो र ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।