logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मोटरसाइकलको सिटमा लुकाएको गाँजासहित दुई भारतीय पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, ०६ कात्तिक – प्रहरीले सर्लाहीको लालबन्दीबाट लागुऔषध गाँजासहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी जिल्ला बेला थाना बथौरा पन्चायत मुजौली घर भएका २० वर्षीय शङ्कर राम र ३३ वर्षीय अशोक साह रहेका छन् । प्रहरीले सुरुमा २० वर्षीय शङ्कर रामलाई बीआर ३० टि ४०२५ नम्वरको मोटरसाइकलमा गाँजा लिएर हिँडिरहेका बेला हिजो (सोमबार) बिहानपख लालबन्दी नगरपालिका–५, मेजरगन्जबाट नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा मोटरसाइकलको सिटकभरमुनी प्लाष्टिकमा प्याक गरेर राखिएको पाँच किलो ३४० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । शङ्करसँग सोधपुछ गर्दा अशोक साहले पठाएको बयान दिएपछि अशोकलाई समेत लालबन्दी नगरपालिका–७, स्थित बजारको एक होटलबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पाठकले बताए ।

पक्राउ परेका शङ्कर र अशोक लागुऔषधको पेशेवर कारोबारी हुने सक्ने प्रहरीको आशङ्का रहेको छ । दुवैविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लालबन्दी प्र्रहरीले अनुसन्धान गरिरहेको छ ।

सर्लाही प्रहरीले दुई दिनअघि जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, सखुअवाबाट घरमा लुकाइराखेको १० केजी गाँजासहित स्थानीय २१ वर्षीय पङ्कज साहलाई पक्राउ गरेको थियो ।