गोडैता, ०७ कात्तिक – सर्लाहीको ईश्वरपुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरिएको छ ।
आज र भोली दुई दिन चल्ने तालिम अन्तर्गत आज पहिलो दिन वडा नं. १ देखि ८ सम्म कार्यरत महिला स्वयंसेविकालाई तालिम प्रदान गरिएको हो । दोस्रो दिन अब भोली वडा नं. ९ देखि १५ सम्मका स्वास्थ्य स्वयंसेविकालाई यस प्रकारको तालिम दिइने छ ।
गाउँघरमा स्वास्थ्यको विषय सुरुमै महिला स्वास्थ्य स्वयंसेविकासँग जोडिने भएकाले घरगाउँमा कार्यरत उनीहरुलाई आँखा सम्वन्धी रोग र त्यसको उपचारका बारेमा सामान्य ढंगको तालिम दिएर पठाइएको आयोजक ईश्वरपुर आँखा उपचार केन्द्रले जनाएको छ । केन्द्रकै कार्यालय ईश्वरपुर नगरपालिका ९ गौचरणमा आयोजित तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई रमेश घिमिरे, आयुष सापकोटा र चन्द्रमणि रामले सहजीकरण गर्ने छन् ।
तालिमको आज प्रकाश मैनालीको अध्यक्षता, ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जितादेवी चौधरीको प्रमुख आतिथ्यता र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो ।