मलंगवा, ०५ कात्तिक – प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आज बसेको सर्लाहीका कार्यालय प्रमुखहरुको बैठकले असोज १० देखि १२ गतेसम्मको वर्षाले पुर्याएको क्षतिको वास्तविक विवरण पठाउन ताकेता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सिडिओ अधिकारीको अध्यक्षतामा बसेको बैठकले वर्षापछि बाढी र डुबानबाट पुगेको क्षतिको यर्थात विवरण अबिलम्व जिल्ला प्रशासन कार्यालयमामा पठाउन ताकेता गरेको हो । कार्यालय प्रमुखहरुको बैठकले कार्यालयको सेवा सेवाग्राहीमैत्री बनाउने, कर्मचारी अनिवार्य पोसाकमा उपस्थित हुने, बेरुजु फछ्र्यौटलाई तदारुकताका साथ अघि बढाउने, तिहार तथा छठका बेला लामो विदा हुने भएकाले कार्यालय सुरक्षाको प्रभावकारी प्रवन्ध गर्ने जस्ता निर्णय गरेको छ ।
यस्तै चाडपर्वको बेला हुनसक्ने अस्वभाविक मुल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, विभिन्न प्रकारका ठगी, चोरी, तस्करी एवं राजस्व छली, सार्वजनिक यातायातमा बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु राख्ने आदि क्रियाकलापहरु नियमन तथा नियन्त्रण गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।