logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीबाट काठमाडौं फर्किने यात्रुको अधिक चाप, मनोमानी भाडा


  • उज्यालो अभियान

हरिवन, ०२ कात्तिक – सर्लाहीमा दशैँ मनाएर संघीय राजधानी काठमाडौं फर्कनेहरु बढेका छन् ।

यहाँबाट काठमाडौं जाने रात्रि बस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलीपल्टदेखि काठमाडौं फर्किने सवारीमा यात्रुको संख्या बढेको जनायो ।

कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले उपत्यकाबाट जिल्ला भित्रिने यात्रुबाहक सवारी खाली नै आइरहे पनि यताबाट जाने सवारीमा भने यात्रुको अत्यधिक चाप देखिएको जानकारी दिए । यो वर्ष बाढी, पहिरोले विपी राजमार्गमा व्यापक क्षति पु¥याएपछि धेरै मानिस नारायणगण–मुग्लिन तथा विभिन्न मार्ग हुँदै हेटौंडा निस्किएर दशैँ मनाउन घर आएका थिए ।

सार्वजनिक गाडी राम्रोसँग सञ्चालन नहुँदा धेरै मानिस त मोटरसाइकलमै घर आइपुगेका थिए । उनीहरु दशैँ मनाएर धमाधम अध्ययन तथा रोजगारीका लागि राजधानी काठमाडौं फर्किरहेका हुन् ।

ट्राफिक प्रहरी निरीक्षक घिमिरेले दशैँका बेला केही दिन जिल्लाको पूर्व–पश्चिम राजमार्गका पुलहरुमा सवारीको चाप बढेर जाम लागेपनि अहिले त्यस्तो अवस्था नरहेको बताए । काठमाडौं फर्किने सवारीको चाप बढेपनि दशैँको मुखमा जस्तो पुलमा प्रहरी नै खटाएर सवारी वारपारको व्यवस्था मिलाउनुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरीका जिल्ला प्रमुख घिमिरेले बताए ।

दशैँको टीकाअघि काठमाडौंबाट यात्रु ल्याउन भ्याइनभ्याइ रहेको गाडीलाई अहिले यहाँबाट यात्रु लैजाने चटारो छ । लालबन्दीमा रात्रि बसको काउन्टर सञ्चालन गर्ने सुनिल साहले यहाँबाट काठमाडौं जाने बसमा भरिभराउ यात्रु हुने गरेका बताए ।