लालबन्दी, ०२ कात्तिक – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पस नजिक पूर्व पश्चिम राजमार्गमा हरिवन नगरपालिका–११, बस्ने अब्दुल साह फकिरकी छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसी टिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नं.को छ चक्के मिनी ट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी जानकारी दिए । उनले राजमार्गमा निकै कम सिसी टिभी रहेकाले दुर्घटनामा संलग्न गाडी पत्ता लगाउन निकै सास्ती खेप्नु परेको सुनाए ।
प्रहरीले ट्रकका चालक ईलामको सूर्योदय नगरपालिका–१, बस्ने ३७ वर्षीय जीतबहादुर राईलाई समेत नियन्त्रणमा लिएको छ । चालक राईले घटना स्वीकार गरिसकेका प्रहरीको दावी छ ।
राईलाई सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पाठकले बताए ।
असोज १५ गते राति ११ बजे दुर्घटना भएको समयको आसपासमा बस्तीपुर क्षेत्रको राजमार्ग क्षेत्रमा दुईवटा गाडी मात्रै देखिएपछि प्रहरीले सुक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको थियो ।