मलंगवा, २९ असोज – सर्लाहीमा दशैँभर भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
घटस्थापनाको दिनदेखि आज बिहानसम्म जिल्लाभर भएका ५५ वटा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट बागमती, रामनगर बहुअर्वा र हेमपुरमा गरी तीन जना, टिपरको ठक्करबाट लालबन्दीमा एक जना, अटो पल्टिँदा बसबरियामा एक जना, ट्याक्टरले किचेर नारायणपुरमा एक जना, ट्याक्टर दुर्घटना हुँदा खुटौनामा एक जना र स्कुल बसले ठक्कर दिँदा राजघाटमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
गएराति मात्रै बसबरिया गाउँपालिका–६, पोखरिया टोलमा हीरापुरबाट मदनपुरतर्फ गइरहेको मधेश प्रदेश–०२–००१ स ३०३० नम्वरको अटो साँढेगोरुसँग ठोक्किएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा कविलासी नगरपालिका–३, बस्ने ३९ वर्षीय भुवनारायण राय यादवको मृत्यु भएको छ । घाइते सात जनाको वीरगन्जमा उपचार जारी छ ।
त्यस्तै १३ दिनसम्म जिल्लाभर भएका ५५ वटा सवारी दुर्घटनामा १११ जना घाइते समेत भएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए ।
अन्य वर्षको तुलनामा यो वर्ष दशैँ अवधिमा सवारीमा सवारी दुर्घटना बढेको छ ।
यस्तै दशैँभर जिल्लाका विभिन्न १९ स्थानमा भएका झै–झगडा तथा कुटपीटको घटनामा ३६ जना घाइते भएका प्रहरीले जनाएको छ ।