सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २३ असोज – प्रमुख चाडपर्वलाई लक्षित गरी सर्लाही प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटको क्षेत्रमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । सुरक्षा योजना अन्तर्गत गाउँघर तथा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरी गस्ती बढाउनुका साथै मानिसको धेरै भिडभाड हुने दुर्गा पूजास्थल, हाटबजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको जिल्ला प्रहरी प्रमुख सिंहले उज्यालो अभियानसँग बताए ।
दशँैको उपलक्ष्यमा जिल्लाका २० वटै पालिकाको दर्जनौँ स्थानमा दुर्गा पूजा तथा मेला, महोत्सव लागिरहेका छन् । दशैँभर लाग्ने ति मेला, महोत्सवमा मानिसको उपस्थिति धेरै हुने र त्यसठाउँमा झै–झगडा, चोरीजस्ता अपराधका घटना हुने भएकाले प्रहरीले विशेष सतर्कता अपनाएको छ ।
दुर्गापूजास्थलमा सुरक्षा अधिकारी आफै दिनहुँ परिचालित भइरहेका छन् । चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाका प्रमुखसँग अन्तरक्रिया गरी सुरक्षा सावधानी अपनाउने निर्णय गरिएको छ ।
चाडपर्वमा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी छ स्थानमा नागरिक सहायता कक्ष स्थापनासँगै सवारी चेकजाँच र सचेतना जगाउने काम गरिरहेको जिल्ला प्रहरी प्रमुख सिंहले बताए ।