गोडैता, २३ असोज – सर्लाहीको गोडैतास्थित नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बाढी पीडित आफ्ना ८० जना ग्राहकलाई राहत वितरण गरेको छ ।
संस्थाले डेढ हप्ताअघिको भारी वर्षापछि प्रभावित बनेको गोडैता, बलरा र रामनगरका बाढी पीडित ग्राहकलाई हिजो गोडैतामा भेला पारेर राहत वितरण गरेको हो । ८० जना ग्राहकलाई जनही २५ किलो चामल, दुई किलो दाल, तीन किलो आलु, एक किलो नुन र एक लिटर खानेतेल वितरण गरिएको नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय गोडैताले जनाएको छ ।
संस्थाका केन्द्रिय कार्यालय प्रतिनिधि एवं अनुगमन अधिकृत बालिसटर यादवको अध्यक्षता तथा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि र बाढी पीडितको सहभागी भएका थिए ।
संस्थाको गौरीबास शाखाका प्रमुख जामनुप्रसाद यादवले संचालन गरेको कार्यक्रममा गोडैता शाखाका प्रमुख उपेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरे ।