logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगरमा आगलागी, एउटा घर जल्यो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

मोहनपुर, २२ असोज – सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, गराहटोलमा गएराति आगलागी हुँदा एउटा घर पूर्णरुपमा जलेको छ ।

राति ९ बजेतिर भएको आगलागीबाट मिथलेस मण्डल खत्वेको बाँसको टाटी भएको र खपडाले छाएको एक तले कच्ची घर जलेको हो । आगलागीबाट घरसहित घरभित्रका कपडा, अन्य सरसामग्री र गरगहना जलेर खरानी हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

मिथलेसको घरमा लागेको आगो निभाउनेक्रममा छिमेकी देवनारायण मण्डलको कच्ची घरको छानोमा रहेको टाली फुट्दा २० हजार रुपियाँ बराबरको क्षति भएको छ । स्थानीयले आगलागीको सूचना दिनासाथ प्रहरी चौकी मोहनपुर, इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट ठूलो सङ्ख्यामा खटिएका प्रहरी, गाउँले र मलङ्गवा नगरपालिकाबाट आएको दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको बतायो । स्थानीय शिक्षक सरोजकुमार सिंहले विद्युत् सर्ट भएर आगलागी भएको जस्तो देखिएको बताए ।