गैर, २१ असोज – सर्लाहीको कविलासी नगरपालिका–७, गैरका युवा योगेशकुमार झाले व्यक्तिगत खर्चमा गाउँको विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् ।
उनले माध्यमिक विद्यालय गैरलाई चार थान कम्प्युटर प्रदान गरेका हुन् । झाले विद्यालयका प्रधानाध्यापक राजकिशोर महतो र व्यवस्थापन समितिका अध्यक्ष विजय झालाई आज कम्प्युटर हस्तान्तरण गरेका छन् ।
विद्यालयको कामकाज गर्न तथा शिक्षक र विद्यार्थीलाई कम्प्युटर सिक्नका लागि सहजहोस् भनी कम्प्युटर सहयोग गरेको झाले बताए । कम्प्युटर हस्तान्तरण कार्यक्रममा कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण, कार्यपालिका सदस्य विनय कर्ण, वडाध्यक्ष धरवेन्द्र राय यादवलगायतको आतिथ्यता रहेको थियो ।