लालबन्दी, २१ असोज – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा आज दशैँको किनमेल गर्नेको अत्यधिक भिड लागेको छ ।
दशैँको अन्तिमतिरको बजार भएकाले कपडा, खाद्यान्न, मरमसलालगायतका सरसामग्री किन्नेको चहलपहल देखिएको हो । लालबन्दीमा सोमबार र बिहीबार गरी सातामा दुई दिन हाटबजार लाग्ने गरेको छ ।
आगामी बिहीबार फूलपातीका दिन अब एउटा बजार लाग्ने छ । त्यसअघि आज पनि ठूलो संख्यामा सर्वसाधारण बजारमा आएर किनमेल गरिरहेका हुन् । जिल्लाको गाउँगाउँबाट मानिस बजार आइपुगेका छन् । गाउँबाट लालबन्दी बजार आउने टेम्पु, म्याजिकलगायतका सवारी साधनलाई यात्रु ओसार्न भ्याइनभ्याइ छ ।
व्यापारीले अब दशैँका लागि तीन÷चार दिन राम्रो व्यापार हुने अपेक्षा गरेका छन् । दशैँका लागि खसिबोका किनबेच गर्न बिहान लालबन्दीको खसीबोका बजारमा पनि अत्यधिक भिड देखिन्थ्यो । बजारमा भिडभाड बढेसँगै स्थानीय प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक सुजन पाठकले बजार क्षेत्रको सुरक्षार्थ सादा पोसाक समेतका प्रहरी परिचालन गरी गस्ती बढाइएको बताए । लालबन्दीसँगै जिल्लाका हरिवन, बरहथवा, बयलवासलगायतका बजारमा पनि मानिसको चहलपहल बढ्दो देखिन्छ ।
तर पछिल्ला वर्षहरुमा आर्थिक मन्दी र क्रय शक्ति घट्दा आम सर्वसाधारणलाई दशैँजस्ता चाडपर्वको खर्च जोहो गर्नै नै समस्या पर्न थालेको छ ।