नवलपुर, २१ असोज – चाडपर्वको समयमा हुने पशुबलीविरुद्ध सर्लाही र रौतहटमा सचेतनामूलक अभियान चलाइएको छ ।
प्राणी हिंसा आजै त्यागौँ, हत्या, हिंसा, काटमाररहीत दशैँ मनाऔँ, आफू पनि बाचौँ, प्राणीलाई पनि बचाऊँ जस्ता नारासहित पशुबली त्याग्न अपिल गर्दै अभियान सञ्चालन गरिएको हो । श्रीकृष्ण प्राणामी युवा परिषद् सर्लाही र रौतहटको संयुक्त आयोजनामा दुई जिल्लाका विभिन्न ठाउँमा पशुबलीविरुद्ध सचेतना अभियान चलाइएको आयोजकका तीर्थनारायण महतोले जानकारी दिए ।
उनका अनुसार यो अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरदेखि सर्लाहीको बरहथवा, छटौल, नवलपुर, हरिवन, नयाँरोड, कविलासी, जमुनियालगायतका स्थानमा प्ले कार्डसहित कार्यक्रम गरी विभिन्न मठमन्दिरको परिक्रमा गरिएको छ ।
नजिकिँदो मुख्य चाडपर्वमा पशुबली धेरै चढाइने भएकाले त्यसलाइ रोक्ने उद्देश्यसहित सर्लाही र रौतहट दुवै जिल्लामा निरन्तर अभियान सञ्चालन गरिएको श्रीकृष्ण प्राणामी युवा परिषद्ले जनाएको छ ।