बलरा, २० असोज – सर्लाहीको बलरा नगरपालिकामा बाढीले बगाएर मृत्यु भएका दुई जनाको परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपियाँ प्रदान गरिएको छ ।
असोज १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई जनही दुई लाख रुपियाँ राहत दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बलरा नगरपालिका–३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र बलरा नगरपालिका–१, हथियौलका २७ वर्षीय पवन गिरीको परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपियाँ प्रदान गरेको हो ।
अङ्कित असोज १४ गते र पवन असोज १५ गते बागमती नदीको भेलबाट जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । आज बिहान दुवै मृतकको घरमा पुगेर जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहलगायतले सरकारको तर्फबाट राहत रकम बैङ्कमा जम्मा गरिदिएको जानकारी गराउँदै समवेदना प्रकट गरे ।
असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाले बागमती नदी बाँध फुटाएर गाउँमा बस्दा बलरा नगरपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो । अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर मृत्यु भएका बागमती नगरपालिका–९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको परिवारलाई पनि राहत स्वरुप दुई लाख रुपियाँ प्रदान गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।
महतोको परिवारसँग आवश्यक कागजात लिने काम भइरहेको र प्रक्रिया पूरा गरी तत्कालै रकम जम्मा गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बलरामा युनिसेफबाट र धनकौलमा प्लान इन्टरनेशनलबाट भइरहेको राहत वितरण कार्यको अनुगमन समेत गरेको छ ।