बलरा, १८ असोज – सर्लाहीको बलरा नगरपालिकाले बाढीमा डुबेर मृत्यु भएका दुई किशोरको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
तीन दिनको भारी वर्षापछि बागमती नदीको भलमा डुबेर मृत्यु भएका बलरा नगरपालिका–१, का पवन गिरी र बलरा नगरपालिका–३, का अङ्कित ठाकुरको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो । दुवै मृतकको परिवारलाई आज नगरप्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जनही २५ हजार रुपियाँ हस्तान्तरण गरे ।
दुवै परिवारलाई नगरपालिकाको तर्फबाट एक/एक लाख रुपियाँ प्रदान गरिने नगरप्रमुख कुशवाहाले बताए ।
पीडित परिवारलाई तत्कालै आर्थिक समस्या परेकाले जनही २५ हजार रुपियाँ नगदै प्रदान गरिएको र बाँकी रकम आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्रै बैङ्कमा जम्मा गरिदिने नगरप्रमुख कुशवाहाले जानकारी दिए ।