मलंगवा, १७ असोज – सर्लाहीमा आज दुर्गा पूजाको भव्य कलशयात्रा निकालिएको छ ।
नवरात्रभर जिल्लाका विभिन्न स्थानमा दुर्गा पूजा हुने स्थानीयले बताएका छन् । आज पहिलो दिन नजिकका खोला, नदी, नहरलगायतका जलाशयबाट जल उठाएर कलशयात्रा निकालिएको हो ।
सर्लाहीका २० वटै पालिकामा गाउँलेहरु सामेल भएर भव्य कलशयात्रा गरेका हाम्रा संवाददाताले जनाएका छन् । दुर्गा पूजा र कलशयात्रालाई मध्यनजर गर्दै सदरमुकाम मलंगवासहित सुरक्षा चुनौति रहेको स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सदरमुकाम मलंगवामा आज निकालिएको कलशयात्रामा सुरक्षाका लागि डिएसपीको कमाण्डमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्लाका सबैठाउँमा शान्तपूर्वक दुर्गा पूजाको कलशयात्रा निकालिएको उल्लेख गरेको छ । यसैबिच, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ ।
बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । आजैदेखि वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ ।
आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ अर्थात यव रोप्ने गरिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
परम्परा अनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेष अनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ ।
आजैका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।