logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उखु किसानलाई दशैँअघि नै अनुदान


  • उज्यालो अभियान

हरिवन, १६ असोज – सर्लाहीका उखु किसानले यो वर्ष दशैँअघि नै अनुदान रकम प्राप्त गर्ने भएका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले उखु किसानलाई वितरण गर्न २९ करोड ७१ लाख सात हजार ८०३ रुपियाँ अनुदान रकम निकासा भएर आएको जनाएको छ । सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईले दशैँ बिदाअघि नै उखु किसानको खातामा अनुदान रकम जम्मा भइसक्ने गरी तयारी गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बाढी पीडितको उद्धार तथा राहतमा केन्द्रित हुनुपरेकाले उखुको अनुदान वितरण समितिको बैठक बस्न नसकेपनि कोलेनिकाले प्रक्रियागत काम गरिरहेको कार्यालय प्रमुख गुरागाईले जानकारी दिए । “पालिका र चिनी मिलसँग किसानको विवरण र आवश्यक कागजात लिने काम गरिरहेको छौँ,” प्रमुख कोष नियन्त्रक गुरागाईले भने, “दशैँअघि नै सबै उखु किसानले अनुदान रकम प्राप्त गर्नुहुन्छ ।”

उखु किसानलाई जतिसक्दो चाँडो अनुदान रकम प्राप्त गर्ने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारीसहित अनुदान भुक्तानि समितिका अन्य पदाधिकारीसँग समेत समन्वय र सहकार्य गरिरहेको उनले बताए । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका लेखापाल रामप्रकाश साहले पालिकामा दर्ता भएका उखु किसानको विवरण र चिनी मिलले दिनुपर्ने उखु क्रसिङको विवरण धमाधम प्राप्त भइरहेको सुनाए ।

सरकारले उपलब्ध गराउने अनुदान रकम कोलेनिकाले बैङ्कलाई चेक काटेर दिने र बैङ्कले किसानको खातामा हालिदिने व्यवस्था छ । गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

कुन किसानको के–कति परिमाणमा उखु क्रसिङ भयो भनी चिनी मिलले कोलेनिकालाई विवरण उपलब्ध गराउने छन् । गत वर्ष अपुरो रकम निकासा भएर आउँदा मुख्य चाडपर्वमा समेत उखुको अनुदान रकम नपाएका सर्लाहीका उखु किसान यो वर्ष दशैँअघि नै अनुदान रकम पाउने भएपछि खुसी देखिएका छन् ।

उखुको अनुदान रकमले नै दशैँ मनाउने किसानको तयारी रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । मैनालीले भने– “दशैँअघि नै अनुदान रकम पाउने भयौँ, खुसी लागेको छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानको मर्म बुझेर बेलैमा अनुदान रकम निकासा गर्न सहयोग गरेको भन्दै मैनालीले खुसी व्यक्त गरे ।