logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीकाे बाढीले सर्लाहीकाे दक्षीणी क्षेत्रमा मच्चाएकाे `ताण्डव’ (तस्बिरहरु)


  • उज्यालो अभियान

शनिबार दिउँसो बलराको जैहथियौलको अवस्था ।

शनिबार र साेमबार दिउँसाे याे पंक्तिकार कटान र डुबान क्षेत्रमा पुग्दाका दृष्यहरु ।

टंक बहादुर क्षेत्री/उज्यालाे अभियान

बलरा, १५ असाेज – शनिबार बिहानदेखि साँझसम्म बागमती नदिकाे पूर्वी बाँध फुटेर भेल पस्दा बलरा र बरहथवा नगरपालिका एवं रामनगर, बसबरिया र धनकाैल गाउँपालिकाका दक्षिण-पश्चिम स्थित विभिन्न ठाउँमा तहसनहस पारेकाे छ । बलराकाे छन्किटाेला, जैहथियाैल लगायत क्षेत्रमा शनिबार बिहानैदेखि बागमतीकाे भेल पसेर डुबान र कटान सूरु गरिसकेकाे थियाे । दिउँसाे र साँझबाट भने छटाैल, महिनाथपुर, मानपुर र हजरियाबाट समेत बाँध फाेडेर बागमती पस्दा छेउछाउका गाउँहरुमा डुबान र कटान सूरु भयाे । शनिबार दिउँसाेदेखि अहिलेसम्म पनि उक्त क्षेत्रकाे जनजिवन`भद्रगाेल’ बनिरहेकाे छ ।

डुबानका कारण नष्ट भएका परवल (परोर) का बोट ।

मानपुर स्थित यही बाँध फुटेर बागमती गाउँ पसेको थियो ।

मानपुर स्थित धापटोल पश्चिमको बाँध र चारैतिरबाट निर्माण गरिएको बाटोको अवस्था । बाँधसँग सटाएरै पश्चिमतर्फ निर्माण गरिएका बाटोहरुका कारण पानीको बहाब दक्षिण जान रोकिएपछि अधिकांश ठाउँमा पूर्वी बाँध फुटाएर बागमती नदि गाउँतिर पसेको देखिन्छ ।मानपुरस्थित धापटोल छेउको बागमती नदिको बाँधमा आश्रीत स्थानीय ।

मानपुरस्थित धापटोल नजिकै बागमती नदिको बाँधदेखि पश्चिम एकादशी खोलामा सोमबार दिउँसो माछा मार्दै स्थानीय ।

बलरा नगरपालिकाको लक्ष्मिपुर टोलाबाट भारतको बसभिट्टा बजारतर्फ किनमेलका लागि सोमबार दिउँसो डुंगा चढेर तथा पौडेर ओहोरदोहोर गर्दै स्थानीय । (यो सहित तलका ६ वटा तस्बिरहरु)

इलाका प्रहरी कार्यालय बलराका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक दिपेन्द्र मल्ल डुबानमा परेको कार्यालयबाट सोमबार दिउँसो बाहिरिदै ।

बलराबाट भारतीय बजार बसभिट्टा जाने मुख्य मार्ग अन्तर्गत दशगजामा रहेको जंगे पिलर ।

सोमबार साँझसम्म पनि डुबानमै परिरहेको छतौना स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ।

मानपुरबाट पश्चिमतर्फ जाने सडकमा रहेको कल्भर्ट ।

छटौलदेखि पश्चिमतर्फ बागमतीले फुटाएको बाँध ।

सडकमै आएको भेलमा माछा मार्दै तथा पौडी खेल्दै स्थानीय ।

उखु, धान, तरकारी लगायत बालीमा निकै क्षति पुगेकाे छ ।सयाैं सर्बसाधारण बागमतीको बाँध, सामुदायिक भवन, आफन्त एवं गाउँलेहरुकाे घरमा आश्रीत छन् । जताततै समुन्द्रकाे झल्काे दिनेगरि जलाशयहरु बन्दा जनजिवन अत्यन्त कष्टकर बनेकाे छ । दर्जनाै घरहरु डुबेका छन् भने कतिपय घरहरु ३ दिनदेखिकाे डुबानले लडिसकेका छन् ।

स्थानीय प्रशासनकाे नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले कतिपय स्थानबाट सर्बसाधारणलाई उद्धार गरेर सुरक्षित स्थानमा सारेका छन् । सर्बसाधारणलाई सुरक्षाकाे प्रत्याभूति दिनुपर्ने सुरक्षानिकायका त्यस क्षेत्रका इकाई भवनहरु समेत ३ दिनदेखि डुबानमा पर्दा सुरक्षाकर्मीकै दैनिकी असहज बनेकाे छ । भाैगाेलिक रूपमा तराई-मधेशकाे सुगम जिल्ला भएपनि डुबान र कटानका कारण विकट हिमाली अनि पहाडी जिल्लाकाे जस्तै कहर व्यहाेर्नेपर्ने अवस्थाबाट सर्बसाधारण गुज्रिरहेका छन् ।

हथियौलदेखि पश्चिम बागमतीको बाँध भित्रको दृष्यहरु । (योसहित तलका ४ वटा तस्बिरहरु)

बलरा स्थित छन्किटोलाको शनिबार दिउँसोको अवस्था । (यो सहित तलका १० वटा तस्बिरहरु ।)

एक्कासी असाेचनीय ढंगले ठूलाे क्षेत्रमा डुबान कटान हुँदा उद्धार सहित राहत वितरणमा समस्या श्रृजना आईपरेकाे छ । नागरिकले स्थानीय सरकारकाे प्रत्याभूति महसुस गर्न सकेका छैनन् । विशेषगरि ठूलाे वर्षा हुने तथा कुलेखानी जल विद्युत आयाेजनाकाे ड्याममा पानी भरिएकाले ढाेका खाेलिने र उक्त पानीले बागमती नदिमा ठूलाे बाढी आउने सूचना १२ घण्टा अघिदेखि व्यापक प्रचारप्रसार गरेपनि प्रभावित क्षेत्रका सर्बसाधारण आफैले बेलैमा सजगता नअपनाउँदा डुबान तथा कटानकाे पीडा मात्र हैन धनमालकाे क्षतिसहित अनेकखाले दु:खकष्ट भाेग्न बाध्य बनेका छन् ।

नागरिक स्तरबाट सम्भावित प्राकृतिक प्रकाेपकाे वेवास्ता गर्दै सामान्य ढंगकाे पनि सुरक्षीत उपाय नअपनाउने अनि सरकारबाट उद्धार र राहत सामग्रीमा वेवास्ता भएकाे आराेप लगाउने अर्थात कमिकमजाेरी आफू गर्ने र दाेषकाे भारीजति अरुलाई लगाउने प्रवृत्ति डरलाग्दाे रुपमा बढ्न लागेकाेतर्फ पनि सम्बन्धित सबैले सचेत हुनु जरुरी देखिन्छ ।

अविरल वर्षाका कारण आएको भेलमा माछा मार्ने र हेर्नेहरुको भिड । केही दिनयता दक्षिणी क्षेत्रका खेत तथा जलाशयहरुमा माछा मार्ने क्रम व्यापक बनेको छ ।

शनिबार साँझ कौडेना स्थित धानखेतको अवस्था ।

शनिबार साँझ सशस्त्र प्रहरीले एकादशी खोलामा अड्किएका परिवारका सदस्यलाई सकुशल उद्धार गरेर ल्याएपछि दुवै हात उठाएर खुशी व्यक्त गर्दै मानपुरका एक स्थानीय  एवं शनिबार साँझदेखि निरन्तर डुबान क्षेत्रमा उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु ।