रानिगन्ज, १५ असोज – पहिरोमा परेर ज्यान गुमाएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकीको शव बोकेर काठमाडौंबाट उडेको हेलिकप्टर मौसम प्रतिकूल बन्दा सर्लाही आउन नसकेर फर्किएको छ ।
काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शव बोकेर उडेको हेलिकप्टर आज अपरान्ह ४ बजे आदित्यको गाउँ लालबन्दी १७ रानिगन्जका लागि उडेको थियो । तर मौसम खराबीका कारण हेलिकप्टर यहाँसम्म आउन नै सकेन ।
मौसम खराब हुँदा उदयपुरमा गएर अवतरण भएको हेलिकप्टर अहिले भने रामेछापमा लगेर राखिएको बुझिएको छ । आदित्यको शव हेलिकप्टरमै रहेको छ । भोली बिहान मौसम उघ्रिए पुनः त्यही हेलिकप्टरमा शव ल्याउने प्रयास गरिने भएको छ ।
गएको शनिबार बिहान मकवानपुरको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षण केन्द्रमा पहिरो जाँदा रानिगन्जका आदित्यसहित ६ जना युवा फुटबल खेलाडीको मृत्यु भएको थियो ।
एन्फाको लापरवाहीले आदित्यको ज्यान गएको भन्दै हिजो रानिगन्जका स्थानीयले दुई घण्टा पूर्व राजमार्गमा चक्काजाम गरेका थिए ।