logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वर्षा रोकिएको दुई दिनसम्म पनि बागमतीको तटीय क्षेत्र अझै डुबानमा (तस्बिरहरु)


  • उज्यालो अभियान

बलरा, १४ असोज – अविरल वर्षा रोकिएको दुई दिन भइसक्दा पनि सर्लाहीमा बागमती नदीको तल्लो तटीय क्षेत्रका बस्ती अझै डुबानमा रहेका छन् ।

बिहीबार साँझदेखिको झरी शनिबार मध्यान्हबाट रोकिएको थियो । पानी पर्न रोकिएको दुई दिन भइसक्दा समेत जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका र बसबरिया गाउँपालिकाका एक दर्जन बढी बस्ती अझै डुबानमै रहेका हुन् ।

डुबान रहेका बस्तीमा कम्मरसम्म पानी जमेको छ । डुबानमा परेर घरभित्र राखिएको अन्नसहित अन्य सरसामग्री नष्ट भएको स्थानीयले बताएका छन् ।

डुबानले धान, तरकारीलगायतका बालीनालीमा व्यापक क्षति गरेको किसानले बताएका छन् । भर्खरै पसाएको धान बाली बाढी र डुबानले ढलेको छ । भारी वर्षाले ठाउँठाउँमै कच्ची घर भत्किएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बलरा नगरपालिकाको लगभग सबैजसो वडा र रामनगर गाउँपालिकाको वडा नं. २ मा डुबानको समस्या अत्यधिक देखिएको बताए । जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित हिजो दिनभर बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएका सिडिओ अधिकारीले डुबानले गर्दा पिउने पानी नै नभएका ठाउँमा तत्कालका लागि पानी र खाने अन्न नभएकालाई चिउरा, चाउचाउलगायत खाद्यान्न वितरण गरिएको जानकारी दिए ।

अझै डुबानमै रहेका क्षेत्रमा उद्धार तथा विभिन्न स्थानमा तटबन्ध कस्नका लागि स्थानीय तहसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सुरक्षा अधिकारीले कल्पना गरिए भन्दा धेरै घरहरु डुबानमा परेको पाइएको बताएका छन् ।

बलरा नगरपालिकाका मेयर रामाशङ्कर प्रसाद कुशवाहाले बागमती नदीमा पानीको सतह घटेपनि शनिबारकै बाढीले जताततै डुबानको समस्या आएको बताए । ठाउँठाउँमै बाँसका टाटीले बनेका कच्ची घरहरु भत्किएका, अन्नपात नष्ट भएकाजस्ता समस्या रहेको र क्षतिबारे विवरण सङ्कलन गर्ने काम भइरहेको मेयर कुशावाहाले बताए ।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले चाडपर्वको मुखमा डुबानका कारण नदी तटीय बस्तीमा ठूलो समस्या उत्पन्न गरेको गुनासो गरे । उनले डुबानका कारण घरभित्र भएका अन्नपात नष्ट भएका र बारीमा उब्जिँदै गरेका बाली समेत सखाप हुँदा स्थानीयको बिजोक भएको जानकारी दिए ।

बाढी र डुबानले बागमती नदी तटीय क्षेत्रमा पर्ने बलरा, रामनगर, धनकौल, बरहथवा, बसबरिया, कौडेनालगायत पालिकामा ठाउँठाउँमा सडक भत्काएको छ । विभिन्न ग्रामीण पक्की तथा कच्ची सडक भल बाढीले भत्काउँदा आउजाउमै समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।