logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

खेलाडी मृत्यु घटना : रानिगन्जमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम


  • उज्यालो अभियान

रानिगन्ज, १४ असोज – मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर मृत्यु भएका खेलाडी आदित्य बलम्पाकीको मृत्युको घटनालाई लिएर स्थानीय वासिन्दाले अहिले पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी १७ रानिगन्जमा पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन् ।

शनिबार बिहान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सिस्नेरीस्थित प्रशिक्षण केन्द्रमा पहिरोमा परेर रानिगन्जका आदित्यसहित छ खेलाडीको मृत्यु भएको थियो । एन्फाको लापरवाहीका कारण आदित्यको मृत्यु भएको भन्दै आक्रोशित रानिगन्जका स्थानीयले रानिगन्ज चोकस्थित राजमार्गमा निस्किएर सोमबार दिउँसो ३ बजेदेखि चक्काजाम गरिरहेका हुन् ।

चक्काजामका कारण पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । स्थानीयले आदित्यलाई न्याय दे, एन्फा मुर्दावाद ! जस्ता नारा लगाएर राजमार्गमा प्रदर्शन गरिरहेका छन् ।

चक्काजामपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रहरी अधिकारीले प्रदर्शन गरिरहेका स्थानीयलाई सम्झाइबुझाई गरी राजमार्ग सूचारु गराउने प्रयास गरिरहेका छन् ।

आदित्यको शव सोमबार बिहान एन्फाले हेलिकप्टरमार्फत रानिगन्जस्थित घर ल्याइदिने तयारी गरेपनि परिवारले शव ल्याउन नै अस्वीकार गरेका छन् ।